Saturday, January 18, 2025
Home > खेलकुद समाचार > ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दीलाई

ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दीलाई

ललितपुर, १२ पुष । मनाङ मर्स्याङ्दी क्लबले आठौँ पटक ए डिभिजन लिगको उपाधि जितेको छ ।

संकटालाई तीन–एकले हराएपछि मनाङले लिगमा दुई खेल अगाडि नै उपाधि पक्का गरेको हो । ललितपुर स्थित सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलको सुरुवातदेखि नै आक्रामक फुटबल खेलेका दुवै टिमले एक अर्काको पोष्टमा बारम्बार आक्रमण गरेका थिए । जसमा सातौँ मिनेटमा संकटाका इलोनले मनाङका गोलकिपरलाई बिट गरेर प्रहार गरे पनि गोल गर्न सकेनन् । १३ औँ मिनेटमा मनाङका कमल श्रेष्ठको प्रहार क्रसबारमा लाग्न पुग्यो । १५ औँ मिनेटमा फेरि मनाङका हेमन गुरुङको प्रहार क्रसबारमा नै लाग्न पुग्यो । पहिलो हाफको अन्तिममा मनाङले अर्को मौका पाए पनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मनाङले ८१ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि सब्स्टिच्युट खेलाडी पुजन उपरकोटीले गोल गर्न सफल भए । त्यसपछि ८७ औँ मिनेटमा विदेशी खेलाडी एडिलाजा सोमीडीको गोलमार्फत मनाङले अन्तर तीन–शून्यमा पुर्यायो । त्यसपछि संकटाका सेड्रिक अवाले ९० औँ मिनेट एक गोल फर्काए पनि टिमलाई हारबाट बचाउन सकेनन् । त्यसपछि संकटा खेलमा फर्कन सकेन र मनाङ घरेलु लिगको सर्वाधिक सफल टिम बन्यो ।उसले यसअघि २०४३,४४,४६,२०५७, २०६० र २०६२ तथा २०७१ सालमा उपाधि जितेको थियो । संकटाले २०३७, २०४० र २०४२ गरी तीन पटक लिगको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *