एसिड आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको गएराति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ । तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । एसिड आक्रमण गर्ने पासवानलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।