Saturday, January 18, 2025
Home > Uncategorized > आज जनैपूर्णिमा तथा रक्षाबन्धन

आज जनैपूर्णिमा तथा रक्षाबन्धन


हिन्दु धर्मावलम्बीहरुको महान चाड जनैपूर्णिमा तथा रक्षाबन्धन आज मनाइँदैछ  । बिहानै विधिपुर्वक जनै मन्त्रन यजमानहरु आ–आफ्ना गरु–पुरोहितकहाँ जाने गर्दछन् । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासष्त्र वा ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु, महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । यस उपलक्ष्यमा तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल र कुशद्वारा ऋषितर्पर्ण गरी वैदिक विधिपुर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूर्णिमा’ पनि भन्ने गरिन्छ । यसैगरी आजको दिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृहरुको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पण’का नामले पनि चिनिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी र दाजुभाइको आपसी मायाको चाडका रुपमा पनि लिइन्छ । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ । आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेको क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *