Saturday, January 18, 2025
Home > मुख्य समाचार > अपहरणको आरोपमा तीनजना पक्राउ

अपहरणको आरोपमा तीनजना पक्राउ

झापा, २७ मंसिर । ७ वर्षीय भारतीय बालकलाई अपहरण गरी २४ लाख फिरौती मागको आरोपमा पक्राउ परेका एक महिलासहित तीनजनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमार्फत अपहरणमा संलग्न तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका ६ निवासी ४७ वर्षीय बद्री यादव, सोही गाउँपालिका ६ निवासी ३१ वर्षीय बिट्टु भन्ने श्रीप्रसाद गोडी मुखिया र उनकी श्रीमती २७ वर्षीया अन्जुदेवी मुखिया रहेको प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले जानकारी दिए । भारत विहार राज्यस्थित सुपोलका मोहम्मद सद्दामका सात वर्षीय छोरा महफुज आलमलाई भारतीय दुई युवकको सहयोगमा अपहरण गरी नेपाल ल्याएर बन्धक बनाएका थिए । बन्धक बनाएको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी ढकालले बताए ।
गत मंसिर २० गते मामाघर नजिकै खेल्दै गरेको अवस्थामा चकलेटको प्रलोभन दिई ललाईफकाई बालक आलमलाई मोटरसाइकलमा चढाएर भारतीय अपहरणकारीले नेपाल ल्याएका थिए । अपहरण गरी नेपाल ल्याएका ती बालकलाई अपहरणकारीले गौरीगञ्ज निवासी बिट्टुको घरमा दुई दिन राखेका थिए । त्यसपछि ती बालकलाई मंसिर २२ गते शनिबारदेखि दमकस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बन्धक बनाई पीडितका परिवारसँग भारतीय १५ लाख रुपैयाँ फिरौती मागेको एसपी ढकालले बताए । नेपालमा बालक अपहरणमा परेको पीडित परिवारले भारतीय प्रहरीमा उजुरी दिएपछि नेपाल प्रहरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा झापा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसंन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *